merojindagimerobishwas
merojindagimerobishwas
Mero Jindagi Mero Bishwas
27 posts
Stories of Belief - एन्टेना फाउन्डेसनको कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वास” ले सुरु गरेको त्यो यात्रा जसमा यस्ता नेपालीको जीवनको विश्वासको कथा प्रस्तुत गरिएका छन्, जसले तपाई हामीलाई आत्म-मुल्याङ्कनको तराजुमा त राख्छ नै, तर यदि हामी आँफ्नो अन्तस्करणले त्यो कथालाई मनन गर्न थाल्छौँ, यौटा “एब्सोल्युट” जीवनको परिभाषाले हामीलाई आँफुमा त्यो कत्तिको सार्थक भइरहेको छ भनेर अवश्य झक्झकाउने छ। यसको लागि हामीमा अरु केहि नभएपनि यौटा कुनै न कुनै प्रकारको स्वच्छ मन भने हुनैपर्छ, जुन हामीमा नहुने त होइन, तर हामी त्यसलाई चिनिराखेका हुँदैनौँ। आशा गर्दछौं, तपाईको जीवनमा यी कथाहरुले सकारात्मक प्रेरणा थप्नेछन्। मेरोनेपालमा(डट)कम Meronepalma.com
Don't wanna be here? Send us removal request.
merojindagimerobishwas · 12 years ago
Text
अक्षरको जादूमा विश्वास गर्छु
Tumblr media
मलाई त्यतिबेलै के पनि लाग्यो भने तीनवटा अक्षर चिन्दा सही नाम भेटिन्छ भने सबै अक्षर चिन्नसके सही जिन्दगी पनि अवश्य भेटिनेछ । त्यो साँझ घर फर्केर आफ्नो नाम लेखेको-लेख्यै गरेँ । लेखेको-लेख्यै गरेँ । आफ्नो नाम लेख्नसक्नु कति ठूलो कुरो रहेछ, जिन्दगीमा ! त्यसपछि त अक्षरको मोह यति बढयो कि घाँस काट्न, मकै गोड्न जाँदा पनि किताबै लिएर जानथालेँ ।
अक्षर चिन्नुभन्दा पहिले मेरो जिन्दगी गाउँ नजिकको इन्द्रसरोवर तालजस्तै थियो, जमेको-जम्यै । बालविवाहको पीडा थियो, श्रीमानको साथ थिएन, गरिबीको व्यथा थियो, न कुनै सीप थियो, न आँट । आजभन्दा भोलि, भोलिभन्दा पर्सि जिन्दगी झन्-झन् अप्ठेरो हुँदै थियो । गाउँमा पढ्ने-लेख्नेहरू बढ्दै थिए, उनीहरूको जिन्दगीचाहिँ आजभन्दा भोलि सजिलो भएको देखिन्थ्यो । अनि मलाई लाग्न थाल्यो कि धनले न रूपले, जिन्दगीमा धोका दिएको त अक्षरले पो रहेछ !
०५१ साल माघ ९ गतेको साँझ मैले पहिला तीन अक्षर चिनेँ । जब अक्षरको जादूले मभित्र आत्मविश्वास र आँट भर्दै गयो, मलाई थप खुल्दुलीले सताउन थाल्यो- “प्रौढ कक्षामा ‘नयाँ गोरेटो’ भन्ने एउटा किताबका सानातिना अक्षर र अंक सिक्दामात्रै जिन्दगी यति सजिलो हुन्छ भने स्कुल, क्याम्पसका मोटा-मोटा किताबका सबै अक्षरका सही अर्थ जान्��ेहरूको जिन्दगी कति आनन्दी हुँदो हो ?” र मैले अठोट गरेँ, मेरो जिन्दगी त यस्तै भयो, तर मेरा भाइबहिनीहरू ती सबै अक्षरहरूसम्म पुग्न पाउनुपर्छ, जहाँसम्म उनीहरू पुग्न चाहन्छन् । त्यसका लागि एउटा समस्या थियो, घर मुन्तिरको तसर खोला । बाँकी संसार खोलापारि थियो, वषर्ामा खोला तर्न नसक्दा हाम्रो गाउँका केटाकेटीहरू स्कुल नै जान पाउँदैनथे । मैले त्यहाँ एउटा पुलको सपना देखेँ । अक्षरको जादूले दिएको आँट सम्हालेर तसर खोलामाथि पुल हाल्न सबैलाई गुहारेँ । सुरुमा मेरो आँटलाई गाउँलेले पत्याएनन् । सहयोग पनि आएन । कतिले त चमेलीलाई मात्र चाहिने ‘चमेली पुल’ भन्दै खिसी गरे । धेरै हारगुहार र दौडधुपपछि सामान पाइयो, श्रमदान जुटयो र पुल बनेरै छोडयो । अहिले स्कुल-क्याम्पस जाने केटाकेटीहरू पुलमा खुरुरु दौडेको देख्दा कम्ती सन्तोष लाग्दैन !
सुरुमा पुल बनाउने सपनाको वीउ उमार्ने काम अक्षरको चेतले गर्‍यो । तर पुल ठडिन सपनामात्र पर्याप्त थिएन । त्यहाँ दुई-तीन सय गाउँलेको काँध थियो र त्यो सम्भव भयो । खोलाको लागि फलामको पुल, मान्छेका लागि अक्षरको पुल अनि समुदायको उन्नतिका लागि समूहकै पुल चाहिने रहेछ । सबै नमिली केही नहुने रहेछ ।
म आज पाँचवटा स-साना महिला बचत समूहहर��को अगुवाइ गरिरहेकी छु । चुरा-टीकामा जाने मासिक दस-बीस रुपैयाँ जोगाउँदा आज ती बचत समूहहरूमा दुई-अढाई लाखजति जम्मा भइसकेको छ । यो धेरै खुसीको कुरा हो । अक्षरप्रतिको विश्वास र यिनै समूहहरूको आडले आज मेरोमात्र होइन, गाउँका धेरै महिला, केटाकेटीहरूको जीवन फेरिएको छ । छिटै गाउँमै एउटा सहकारी पनि खोल्दैछौं । महिलाहरूका लागि स्थायी साक्षरता कक्षा र पुस्तकालय खोल्नका लागि पनि पहल गर्दैछौं । बाल समूह र युवा समूह बनाएर सबैलाई समूहमा बाँध्ने उपाय पनि सोचिरहेका छौं ।
यो सबै मैले ढिलो गरी चिनेका तिनै अक्षरहरूको देन हो । अक्षरभित्र अनन्त शक्ति र धेरै-धेरै जादूहरू लुकेका हुन्छन् । अक्षरको त्यो शक्ति पहिल्याउन र त्यसबाट प्राप्त हुने अवसरहरू सबैले समात्न सकुन् भन्ने मेरो इच्छा र प्रार्थना दुवै हो ।
आखिर संसारमा सबैभन्दा ठूलो अक्षरै रहेछ । यो मेरो विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ँमेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
वागमतीको स्वच्छतामा विश्वास
Tumblr media
सानैदेखि नुहाउन, पूजा गर्न, खेल्न र डुल्न जाने गरेको वागमतीलाई मैले ००६ सालदेखि नियमित रूपमा सफा गर्न थालेको हुँ । त्यतिबेला वागमती फोहोर त थिएन, तैपनि त्यहाँ पूजा गर्न, श्राद्ध गर्न आउनेहरूले छाडेका फूलपात, टपरीजस्ता चिजबिज म पानीमा बगाइदिन्थेँ । म धेरैजसो ओमबहाल चोकको हाम्रो घरबाट सातै मिनेटमा पुगिने वागमती र विष्णुमतीको दोभान, टेकु, पचली घाटतिर सफा गर्थें । सफा गर्दागर्दै कहिले चोभार त कैले बुङमती, गुहयेश्वरीसम्म पनि पुग्थेँ । कहिलेदेखि म वागमती सफा गर्दै घन्टौं बिताउन लागेँ, त्यसको पत्तै भएन ।
म वागमतीको त्यो शक्तिमा विश्वास गर्छु, जसले काठमाडौं उपत्यकाको सभ्यतालाई जन्मायो, सिञ्चन गर्‍यो र फलायो-फुलायो । नदीको धर्म बग्नु हो । यही नदीले जन्माएको सभ्यताको एउटा कण हुँ म, त्यसैले मेरो धर्म यो नदीलाई निर्वाध र अकलुषित बग्न दिनु हो । मेरा लागि वागमती गंगाजी हुन्, आमा हुन् । यिनैको गर्भबाट आएका हामीलाई अन्ततोगत्वा यिनैको गर्भमा मिल्नुछ । वागमती मेरालागि एउटा घर हो । दिनदिनै आफ्नो घर बढार्नु मेरो कर्तव्य हो । अति जरुरी काम परेका दिनबाहेक साठी वर्षदेखि सानो ज्यावल बोकेर म सधैं वागमती आइपुग्ने गरेको छु । कहिले त भर्खरै आएको जस्तो लागे पनि आठ-दस घन्टा बितिसकेको हुन्थ्यो । सफा गर्न थालेपछि भोक-प्यास या थकाइ पनि लाग्दैनथ्यो । एक खालको अलौकिक शक्ति आउँथ्यो, जाँगर आउँथ्यो ।
टन्टलापुरे घाम होस् या मुसलधारे वषर्ा, नदीमा कुपि्रएको मेरो ढाड देखेर नौला मान्छेहरू भन्ठान्थे, ‘यो बूढो वागमतीमा सिक्का खोज्दैछ या बालुवामा सुन खोज्दैछ ।’ तर म वागमतीमा सत्य खोज्थेँ । मेरा लागि वागमतीको स्वच्छ र स्वतन्त्र बहाव नै सत्य थियो । त्यही सत्य नै मेरो विश्वास हो । र त्यही विश्वास नै मेरो कर्म ।
वागमतीले काठमाडौं खाल्डालाई स्वच्छ जलले सिञ्चिन्, तर काठमाडौंवासीले वागमतीलाई मलमूत्र र फोहोरको भारी बोकाइदिए । वषर्ात्का थोपा समुद्रमा बिलाएझैं आज मेरो साठी वर्षको परिश्रमका बाबजुद पनि वागमती जर्जर र जीर्ण बनेको छ । तर पनि मलाई मेरो काम निरर्थक लाग्दैन, किनभने कम्तीमा पनि मैले बगाएको फोहोर फर्केर आएको छैन र कहिल्यै आउँदैन । बगेको पानी बरु झरी बनेर फर्केला, बगाएको फोहोर र्फकंदैन । योभन्दा ठूलो सार्थक काम अरू के हुनसक्छ ?
समयले वागमतीलाई धमिल्याउँदै लग्यो । म पनि चाउरिँदै गएँ । समयले वागमतीको बगरलाई साँघुर्‍याउँदै लग्यो । मेरा हाड पनि खिइँदै गए । दुई वर्ष अघिसम्म त नियमित आउँथेँ, तर अचेल अलि कम आउँछु । वागमती सुक्दो छ, म पनि अस्ताउँदो छु । तैपनि म भगवानदासभित्रको वागमती���ास अझै पनि उस्तै निश्चल छ, बाले ताती गराउँदै ल्याएको समयको जस्तो । मेरो लागि वागमती उही छ, सुन्दर, सफा । फोहोर फोहोर हो र वागमती वागमती हो । वागमती आफू फोहोर होइन ।
वागमती सफा गर्ने काम मैलेे निजी आनन्दका लागि गरेँ । आनन्दभन्दा ठूलो तलब या पुरस्कार अरू केही छैन । वागमतीलाई खुसी पार्ने कोसिस गरेर मैले मनलाई खुसी पारेँ । यो मेरो नितान्त व्यक्तिगत इच्छा र तपस्या हो । यसमा मैले न कसैको साथ खोजेको छु, न कुनै श्रेय । मेरा आफ्नै सन्तानले पनि कहिल्यै वागमती आएर यहाँ सफा गरेनन्, गर्दैनन्् । वागमतीको नाममा कसैको पनि एक पैसा खाएको छैन मैले । एउटा सामान्य नेवार व्यापारी परिवारको छोरो, पढेलेखेको छुइन, त्यसैले पनि वागमती मेरालागि ठूलठूला दस्तावेज या परियोजना बनेन । अघि नै भनेँ, मेरालागि वागमती दैनिकी बन्यो, तपस्या बन्यो । वागमती मेरो धर्म हो, मेरो कर्म हो र यही नै मेरो जिन्दगी, मेरो विश्वास । र म थाकेको छैन, मेरो विश्वास डगेको छैन ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वासबाट साभार गरिएको हो ।”
0 notes
merojindagimerobishwas · 12 years ago
Text
विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म
Tumblr media
त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले निरीक्षक बनेँ । यी सबै भूमिकामा मैले सधैं अधिकतम र कमजोर विद्यार्थीका लागि लडेको छु, मैले तिनलाई गर्नसक्ने जति न्याय गर्ने प्रयास गरेको छु । मेरो कक्षा लिनआउने विद्यार्थीहरूलाई मैले कहिल्यै छुट्टै टयुुसन पढाइन । उनीहरूका लागि म चौबीसै घन्टा उपलब्ध हुन्थेँ, टेलिफोनमा, बाटोमा, चियापसलमा । मलाई जहाँ भेटेर भए पनि विद्यार्थीले आफ्ना प्रश्न र समस्या राख्थे ।
मेरो जीवनमा अभावहरू नभएका होइनन् । कठिनाइ अवश्य थियो । तर श्रीमतीको र मेरो इमानदार कमाइले हामीलाई व्यवहार धान्न पुगेकै थियो । आफ्नो विश्वास बेचेर मैले विद्यार्थीहरूमाथि अन्याय गर्न चाहिन । टयुुुुसन पढाउनतिर लाग्दा टाढा-टाढाबाट आएर क्याम्पसको कोठामा, बेन्चमा, डेस्कमा, भुइँमा, झयालमा बसेर र उभिएरै पनि मेरो कक्षा लिन चाहने विद्यार्थीमाथि मैले अन्याय गर्न सक्दिनथेँ । आश र त्रासले मान्छेलाई सम्झौता गर्न, झूट बोल्न र झुक्न बाध्य पार्छ । आश र त्रास राखेको भए म पनि रजिष्ट्रार, रेक्टरजस्ता पदमा पुर्‍याइन्थेँ होला । तर मलाई कहिल्यै त्यो चाह भएन । विद्यार्थीहरूको सफलतालाई नै मैले आफ्नो सफलता र उनीहरूको असफलता आफ्नो असफलता मान्दै झन्डै चार दशक बिताएँ । मेरो शैक्षिक जीवनको पचहत्तर प्रतिशतभन्दा बढी हिस्सा शंकरदेव क्याम्पसमा बित्यो । मेरो कक्षा धेरैजसो बिहानी सत्रको पहिलो पिरियड हुन्थ्यो । प्रायःजसो सवा ६ बजे सुरु हुने मेरो कक्षामा सवा ६ ठीक सवा ६ बजे नै बज्थ्यो, न एक मिनेट छिटो, न एक मिनेट ढिलो । मेरालागि सबैभन्दा ठूलो कुरा मेरो कक्षा नै हुन्थ्यो । मलाई कहिल्यै पनि हुरीपानीले कक्षामा पुग्न छेकेनन् । ४६ सालको आन्दोलनमा चैत २४ गतेदेखि कफर्यु लाग्यो । २३ गतेका दिन बाहिर गोली चलिरहँदा भित्र म कक्षा लिइरहेको थिएँ । ३८ वर्ष पढाउँदा पढाइ भएकाबखत मुस्किलले ३८ दिन कक्षामा अनुपस्थित भएहुँला, आँखाको अपरेसन या अरू कुनै आकस्मिकताका कारण । बैसठ्ठी सालमा आँखामा मोतियाविन्दुको अपरेसन गरेको बखत तीन दिन विदा बसेँ । खासमा अपरेसन पनि विदाकै बेला पारेको थिएँ । तर पनि तीन दिन कक्षा छोड्नु नै पर्‍यो । त्यति धेरै समय लगातार विदामा पहिले कहिल्यै बसेको थिइन, पछि पनि बसिन । कुनै दिन शरीर आलस्य र काम गर्न कठिन भयो होला, तर कक्षा लिने सवालमा ती कुरा कहिल्यै बाधक बनेनन् । सायद कक्षाप्रतिको आशक्ति �� अनुशासन चेतनाले त्यस्तो भयो होला । अनुशासनको घेराले जिन्दगीलाई एउटा आकार दिन्छ, निश्चितता दिन्छ र गर्व गर्ने आधार दिन्छ । अनुशासनमा चुकियो भने जीवनका अन्य पक्षमा पनि चुकिन्छ । मैले आत्मसात गरेको अनुशासनको घेराले मेरो जिन्दगी सार्थक बनेको छ भन्ने ठान्छु ।
मेरो पेसागत र पारिवारिक मूल्य-मान्यता एकआपसमा बाझ्दा धेरै अप्ठेरा क्षणहरू पनि आएका छन् । २९/३० सालतिरको कुरा हो, मेरी आफ्नै दिदी गर्भवती हुनुहुन्थ्यो । उहाँले बिकमको जाँच दिनुपर्ने थियो । प्रश्नपत्र मैले नै सेट गरेको थिएँ । तर मैले ‘दिदी, यी-यी प्रश्नहरू महत्त्वपूर्ण छन्, तयारी गर’ भन्न सकिन । उहाँ फेल हुुनुभयो । यही घटना फेरि मेरी छोरीको केसमा पनि दोहोरियो । उनी पनि फेल भइन्, मैले नै सेट गरेको प्रश्नपत्रमा । जसरी मेरा विद्यार्थीहरू असफल हुँदा मेरो मन दुख्छ, त्यसरी नै मेरी दिदी र छोरी फेल हुँदा पनि मेरो मन दुख्यो । तर पनि पेसाको नैतिकतासँग सम्झौता गर्न मेरो विवेकले दिँदै-दिएन । राम्रो गर्ने विद्यार्थीको उचित मूल्यांकन होस् र यदि कसैले नराम्रो गरेको छ भने उसले कम्तीमा पनि आफ्नो मिहेनतअनुसारको फल पाओस् भन्ने मेरो सधैंको ध्येय रहयो । मेरो यही ध्येय सार्थक हुने वातावरण नभएकाले ०६४ सालको माघ महिनामा जागिर अवधि सकिन २ वर्ष बाँकी हुँदाहुँदै मैले शंकरदेव क्याम्पसबाट स्वैच्छिक अवकाश लिएँ । मेरालागि बुढेसकालको आर्थिक सहारा पेन्सनभन्दा ठूलो थियो मेरो जिन्दगीको विश्वास, मेरा विद्यार्थीप्रतिको न्याय ।
मेरा छोराछोरीहरूले पनि मबाट सहृदयता र इमानदार कर्तव्यबोधको गुण सिकेका छन् । मैले उनीहरूलाई दिनसकेको सबैभन्दा ठूलो पैतृक सम्पत्ति त्यही नै हो । एउटा शिक्षक भएपछि पूरा गर्नुपर्ने विद्यार्थीप्रतिको न्यायको दायित्व पूरा गरेर मैले मेरो जिन्दगी सार्थक बनाएको छु । त्यसमा मलाई गर्व छ । म सन्तुष्ट छु ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ँमेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
पञ्चतत्त्वको शुद्धतामा विश्वास गर्छु
Tumblr media
अंग्रेजीको “सिनर्जी” शब्दको ठयाक्कै मिल्ने नेपाली शब्द छैन, त्यसको भावचाहि“ अंगहरूको शक्ति तिनको जोडभन्दा बढी हुन्छ भन्ने हो । सामान्यतया एकमा एक जोड्दा दर्ुइ हुन्छ, तर व्यक्ति, संस्था वा कुनै पनि इकाइहरूको “सिनर्जी” भयो भने एकमा एक जोड्दा एघार हुन्छ, दर्ुइ होइन । यस आधारमा “सहशक्ति” शब्दलाई “सिनर्जी”को भाव बुझाउने शब्दका रूपमा प्रयोग गर्न सकिन्छ ।
वनस्पतिमा मात्रै होइन, पशु, मान्छे र पन्छी आदि सबैका जरा धरतीमा छन् । धरती स्वस्थ भएमात्र त्यसमा उम्रने वनस्पति स्वस्थ हुन्छ । वायु स्वस्थ हुन्छ । जल स्वस्थ हुन्छ । तेज अथवा ऊर्जा स्वस्थ हुन्छ । आकाश स्वस्थ हुन्छ । यी सबैको “सिनर्जी” अर्थात् “सहशक्ति”ले गर्दा हाम्रो चेतना लगायत त्यस्तो वातावरणको उपयोग गर्ने मानव लगायत समस्त संसार स्वस्थ हुन्छ । मलाई लाग्छ, मानव जीवनको लक्ष्य जगतको त्यो स्वस्थता र शुद्धता प्राप्त गर्ने हुनर्ुपर्छ ।
मान्छेमात्र होइन, कुनै पनि प्राणीको एकल अस्तित्व हु“दैन । बा“च्ने क्रममा उसले धरतीका जुन-जुन चराचर अर्थात् पक्षहरूबाट सहशक्ति पाउ“छ, ती उसका बान्धव हुन् । मान्छे कहिल्यै पनि समूहमुक्त छैन र समूह सहकार्य मुक्त हुन सक्दैन । सहकारिता मान्छेको जीवनका सबभन्दा महत्त्वपर्ूण्ा औपचारिक र अनौपचारिक निकाय हुन्, संस्था हुन्, संगठन हुन् । मित्रता, दाम्पत्य, परिवार वा औपचारिक सहकारी संगठन, यी सबै सहकारिताका स्वरूप हुन् । निष्कलंक औपचारिक सहकारी संगठन, सामुदायिक विकास, स्वनिर्भरता, दिगो र र्सवतोमुखी विकासको महत्त्वपर्ूण्ा साधन हो । सहकार्यमा वा सहकारितामा माथि भनिएको सहशक्ति हुन्छ । सच्चा सहकार्य र सहकारी संस्थाहरू नै मानव समाजका दिगो उन्नतिका साधन हुन् । समूह, समाज, राष्ट्र, देश, मह���देश र विश्व विभिन्न स्तरका सहकारी नै हुन् ।
यी विश्वासहरू ममा कहिलेदेखि उत्पन्न भए र जरा गाडे त्यो भन्न सक्दिन । त्यसतर्फमैले कहिल्यै सोचिन पनि । तर करिब चालीस वर्षो क्रियाशील जीवनपछि मलाई ०६२ साल वैशाखमा ‘मल्टिपल माइलोमा’ नामक रगतको क्यान्सर भएको थाहा भयो । त्यसपछि म जीवन र मृत्युको दोसा“धमा संर्घष्ा गर्न लागे“ । अरू केही गर्न नसक्ने अवस्थामा म मेरो संस्मरण “अर्न्तर्मनको यात्रा” लेख्न थाले“ । त्यसक्रममा मैले आफ्नो
ैजीवनमा गरेका कुराहरूबारे सोच्नुपर्‍यो । मैले यो पनि सोच्नुपर्‍यो, मैले आफ्नो जीवनभरि जे-जे गरे“, किन गरे“ – त्यस चिन्तनको क्रममा मैले मेरो विश्वासको पुनःयात्रा गरे“, जुन त्यस पुस्तकमा लेखेको छु, त्यसलाई मैले मेरो स्ववास्तविकता अर्थात् निजी यथार्थ भनेको छु । मान्छेको विश्वास उसको स्ववास्तविकता हो । त्यो कति र कसरी बा“च्न सक्छ, त्यही नै उसको जीवनको पहिचान हो । उसको विश्वासको पहिचान हो ।
‘अर्न्तर्मनको यात्रा’को ‘भाव, स्वभाव र स्ववास्तविकता’ परिच्छेदमा मैले लेखेको यो वाक्य मेरो विश्वासको अभिव्यक्ति हो, ‘मेरो स्ववास्तविकताबोधले मलाई दृष्टि दियो, जसले गर्दा मैले देखे“, लेखे“ र गरे“ ।’ मैले देखेको र लेखेको साहित्य र गरेका सामुदायिक विकासका काम उही दृष्टिका दर्ुइ अभिव्यक्ति हुन् । तिनैले मलाई जीवन दिएका छन् ।
दर्ुबलता र सबलता दुवै नभएको मान्छे हु“दैन । मानव उन्नतिको लक्ष्य मानव र मानव संस्थाहरूको दर्ुबलता घटाउनु र सबलता बढाउनु हो । मैले गरेको साहित्यिक सिर्जना र मेरा सामयिक राजनीतिक टिप्पणीहरू त्ाथा मैले मेरो जन्मस्थल मन्थली रामेछापमा ०३९ सालमा स्थापना गरेको तामाकोशी सेवा समिति नामक सामाजिक संस्थामाार्फ मेरो नेतृत्व र संलग्नतामा भएका जैविक कृषि, खानेपानी, चर्पी निर्माण, सरसफाइ, स्वास्थ्य, सहकारी, तरकारी उत्पादन, डाले घा“ससम्बन्धी क्रियाकलाप तथा सीमान्तीकृतहरूको सशक्तिकरण र सामुदायिक विकासका अभियानहरू मेरा त्यही विश्वासका अभिव्यक्तिहरू हुन् ।
मलाई लाग्छ, हरेक मान्छेले आफ्नो जन्मभूमि, कर्मभूमि र आफ्नो कार्यक्षेत्रलाई आफू आउ“दाको बेलाको भन्दा जा“दाको बेला थोरै भए पनि सफा र शुद्ध पार्न सक्यो भने पुग्छ । यो संसारलाई अलिकति राम्रो बनाएर जानसक्दा मान्छेको जुनी र्सार्थक हुन्छ ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ँमेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
म माटोको महानतामा विश्वास गर्छु
Tumblr media
स्कुलको शिक्षाले मलाई एउटा सुखी जिन्दगीको वाचा गऱ्‍यो । मैले बरु पेटको भोक मारेँ, ज्ञानको भोक मारिन । मैले अझै पढ्न चाहेँ, हाइस्कुल गएँ, क्याम्पस गएँ । तर अध्ययनक्रममा जहाँ पुगे पनि मैले मेरो गाउँको त्यो माटोलाई सम्झिरहेँ । अन्ततः मैले माटोको सिद्धान्त, त्यसभित्रको गुण र तत्त्वलाई चिनेरै छाडेँ । जब मैले भारतको उदयपुर विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक गरेँ, त्यसपछि बल्ल मैले बुझेँ- मानिस माटोको दास होइन, साथी बन्नुपर्ने रहेछ, अनिमात्र माटोले भातैभातमात्र होइन, सुनैसुन पनि दिँदोरहेछ । माटोको महत्व खालि अन्न उत्पादन गर्नुमा मात्र सीमित रहेनछ ।
म भित्र पलाएको माटोको विश्वास बोकेर म सरकारी कृषि विशेषज्ञको रूपमा हिमालपारिको जिल्ला मुस्ताङ पुगेँ । त्यहाँ हेलिकप्टरबाट ओसारिएको बासी बन्दाबाट पर्यटन र जीवन चल्थ्यो । तर त्यहाँको माटोमा पनि राम्रो सम्भावना थियो । म आफैं त्यहाँका किसानहरूकहाँ जान थालेँ, आफैंले कुटो-कोदालो लिएर स्याउ, बन्दा र काउली रोप्न सिकाएँ । तेह्र वर्षसम्म किसानहरूलाई वीउ उत्पादनदेखि सिंचाइका नयाँ-नयाँ उपायहरू सिकाएँ । त्यहाँको बुङ्ग उड्ने बाँझो माटोमा आज रोपनीका रोपनी स्याउ र तरकारीका फार्महरू छन् । मुस्ताङको यो ���नुभवले मेरो माटोमाथिको विश्वासलाई अझ बलियो बनायो ।
अन्तर्राष्ट्रिय जागिरका क्रममा विश्वका साठीभन्दा बढी देशको माटोसँग साक्षात्कार गर्ने मौका मलाई प्राप्त भयो । मैले धेरै देशका किसानहरूलाई माटोसँग खेल्न सिकाएको छु । उनीहरूका अनुभवबाट मैले पनि धेरै सिकेँ । उनीहरूले बालुवालाई पनि माटो बनाएको देखेँ । माटोमैं जिन्दगी देखेँ, माटोमैं संसार देखेँ । माटोलाई साथी बनाएकै कारण धेरै धनी र सुविधासम्पन्न भएको पनि देखेँ । हामीजस्तै पहाडी देश दक्षिण कोरिया, नुनिलो पानीले थुनिएको टापु सिंगापुर, खैरे पहाडको देश स्वीट्जरल्यान्ड र बालुवै-बालुवाको देश इजरायल संसारका धनी देश हुनसक्छन् भने सेतो हिमाल, हरियो पहाड र पहेँलपुर तराईको विविधताले भरिएको हाम्रो माटोले त झन् नेपाललाई धेरै धनी बनाउन सक्छ भन्ने लाग्न थालेको छ । विश्वाससाथ विदेशी जागिर छाडेर केही गर्नका लागि आफ्नै गाउँ फर्किएँ ।
खोटाङको मेरो गाउँ रतन्छामा म वर्षौंपछि पुग्दा पनि त्यहाँको जीवनस्तर खासै फेरिएको थिएन । त्यसैले मैले त्यहाँ खोटाङ विकास मञ्च भन्ने संस्था खोलेँ । युवाहरूलाई कृषि र विविध सीप तालिम दिने र त्यहाँको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने पहल गरेँ । र त्यो प्रयास अहिले पनि जारी राखेको छु ।
आज मेरो एकहातमा माटो छ, अर्को हातमा मृत्यु छ । मतलब, यो माटोलाई समृद्ध बनाउने बाहेक अरू तिर्सना छैन, मेरो । हिजो भातको तिर्सना थियो, तर आज त्यही पनि छैन । आज ढिँडै खान्छु । तर फरक हिजो निस्तो थियो, आज चारथरीका तरकारी छन् । म आज पनि सोह्रै घन्टा काम गर्छु । तर फरक हिजो काम बाध्यता थियो, आज रहर । र म आज पनि फेरि माटोकै दास भएको छु । तर फरक, हिजो हातपाउबाहेक केही थिएन, आज सीप र प्रविधि छ । माटोबाट सुरु भएको मेरो जिन्दगीलाई मैले माटोकै सेवामा अर्पिएँ । त्यसैले म माटोको सेवामा विश्वास गर्छु । म्ााटोको महानतामा विश्वास गर्छु ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वासबाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
प्रविधिमा मेरो विश्वास
Tumblr media
सुखी र सुशिक्षित जिन्दगीको खोजीमा किशोर बेलाको कुनै एकदिन चटक्क छाडेर हिँडेको गाउँमा वर्षौंपछि शिक्षा, सीप र आत्मविश्वास बोकेर फर्कदा म एकैछिन झस्किएको थिएँ । त्यत्रो समय अन्तरालमा पनि संसारमा आएको परिवर्तनको ज्यादै मिहिन अंशमात्र मेरो गाउँसम्म आइपुगेको थियो । म पढेको स्कुल अझै माध्यमिक हुनसकेको थिएन । गाउँ छाड्नेहरूको लर्को उस्तै थियो । जसरी म सानै छँदा पल्लो डाँडापारि के होला, कुन संसार होला भनेर गम खान्थेँ, गाउँका केटाकेटीका आँखामा मैले त्यही उत्सुकता देखेँ । विशाल पहाड जहाँको त्यहीँ थिए । बाटो, बत्ती, बिजुली, टेलिफोनजस्ता कुनै पनि सुविधा पुग्नसकेका थिएनन् ।
पहाडी जिन्दगी भनेको खालि पहाडसँगको लडाइँ हो कि जस्तो लाग्थ्यो ।
अमेरिकन डिग्री हातमा लिएर गाउँ छिरेको मैले गाउँलाई नै कर्मथलो बनाएर ती चुनौतीका पहाडसँग जुध्ने निर्णय लिएँ । सुरुमा गाउँको विद्यालयलाई माध्यमिक बनाएर गाउँमा अर्थोपार्जनका लागि विकल्पको खोजी गर्दै जाँदा एउटा समस्या टड्कारो देखियो । त्यो समस्या थियो, गाउँ-गाउँबीच सञ्चारको अभाव । एक गाउँको बोली अर्को गाउँसम्म पुग्न त ती पहाडले छेक्थे भने बाहिरी संसारसँगको सम्बन्ध त असम्भव नै थियो । म आफैं पनि हरेक महिना सातै घन्टा यात्रा तय गरेर पोखरा आइपुग्थेँ, इमेल चेक गर्न । प्रकृतिका पहरेदार विशाल पहाडसँग जोरी खोज्ने सामथ्र्य मसँग थिएन । त्यसैले पहाडलाई सजिलै नाघ्न सक्ने प्रविधि मैले खोज्नुपर्‍यो । त्यही खोजीका क्रममा बेतारे प्रविधिलाई प्रयोग गरेर गाउँघरमा इन्टरनेट ल्याउने कामको परीक्षण गरियो । कैयौं समस्याका बाबजुद पनि मैले सम्भावनाका झिल्काहरू देखेँ । चुनौतीलाई मैले हाँसी-हाँसी व्य��ोरेँ । दौडधुप गरेर साधनस्रोत जुटाएँ । आखिरमा परीक्षण सफल भयो । मेरो प्रयास र सबैको सहयोगले बेतारे प्रविधिबाट केही गाउँहरू इन्टरनेटमा जोडिए । परिणामतः आज मेरो गाउँबाट एक कल फोन या एउटा चिठी एउटा औंलाको थिचाइमै टुंगोमा पुग्छन्, पह��लेझैं सातौं घन्टाको यात्रा तय गर्नु पर्दैन । प्रविधिको यो वरदानका कारण आज हाम्रो ग्रामीण पहाडी जिन्दगी सजिलोतर्फको यात्रामा लम्किरहेको छ । र यही लम्काइ नै मेरो विश्वासको आकार हो, दृश्य हो र फेहरिस्त हो ।
मलाई लाग्छ, हरेक मान्छे आफ्नो जिन्दगी आफ्नो हिसाबले बाँच्छ । बाँच्नका लागि कसैले के गर्छ, कसैले के गर्छ, कुरा यत्ति हो, जसले जे गर्छ, त्यसमा उसको मन र दिमाग दुवै खुसी हुनुपर्छ । र म जे गरिरहेको छु, मेरो आत्मसन्तुष्टिका लागि नै गरिरहेको छु । देख्नेलाई मेरो जिन्दगी अनौठो लाग्न सक्छ । परिवार चितवन र पोखरामा, आफूचाहिँ गाउँ-गाउँ घुमिरहने, न पैसा कमाएँ, न कुनै पद । तर यो बेतारे इन्टरनेट प्रविधिले गाउँ-गाउँमा सञ्चारको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा जति योगदान दिइरहेको छ, सायद त्यसले मेरो अनौठो जिन्दगीको सार्थकता झल्काउँछ । यो प्रविधिलाई नेपालको हरेक गाउँमा पुर्‍याउने मेरो लक्ष्य छ । मैले प्रविधिमाथि यत्तिकै विश्वास गरिरहेको छैन । त्यो प्रविधिले गाउँहरूलाई साँच्चै मद्दत गरेको छ । त्यहाँका मानिसकोे दैनिक जीवन हिजोभन्दा बढी सहज भएको छ । त्यसैले म यो ताररहित प्रविधिमा विश्वास गर्छु, जसले जीवनलाई सहज र सरल बनाउन सक्ने सामथ्र्य राखेको छ ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वासबाट साभार गरिएको हो ।”
0 notes
merojindagimerobishwas · 12 years ago
Text
म बोलीको शक्तिमा विश्वास गर्छु
Tumblr media
तराईमा त्यो पनि स्वास्नीमान्छे स्कुल जान पाइने कुरै भएन । मेरा लागि मेरो जिन्दगी नै मेरो विद्यालय हो । घुँघटभित्र मेरो अनुहार लुकेको भए पनि मैले मेरा आँखा र कानलेे वरिपरि जे-जे देखेँ, जे-जे सुनेँ, त्यो मैले बुझ्दै गएँ । कुनै निश्चित समय, निश्चित वर्ग र ठाउँमा जन्मिएकै कारण आफ्नो भागमा थोपरिएको असहय दुःखलाई मैले चुपचाप सहन चाहिन ।
जुनबेला हामीलाई सामाजिक कुरीतिले जकडिरहेको थियो, त्यहीबेला गाउँ-गाउँमा चेतना पनि फैलिँदै थियो । मानवअधिकार शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम भइरहेको थियो । हामीलाई आफ्नानिम्ति बोल्नुपर्छ भन्ने कुरै थाहा थिएन । ख्याल-ख्यालमै हामीले महिलाहरूको सानो समूह बनाएर बेवारिसे पोखरीमा माछापालनको काम थाल्यौं । त्यहाँको समाजले हामीसँग माछापोखरीको आयव्ययको माग गर्न थाल्यो । यसपटक हामी त्यसै पछि हट्नेवाला थिएनौं । हामीले पनि गाउँका सारा पोखरीको आयव्यय वडा समितिसँग्ा माग्यौं । अनि बल्ल वडालाई पनि कर लाग्यो, पारदर्शी बन्न्ा । त्यतिबेलै हो, मैले बोलीेको शक्ति चिनेको ।
मेरो एक्लो बोलीलाई धेरैले दबाउन खोजे । समानताका लागि एक्लो आवाज पर्याप्त थिएन । त्यसैले मेरो बोलीको तरङ्ग विस्तार गर्न राजनीतिमा प्रवेश गरेँ । मेरो राजनीति पद, पैसा र शक्तिका लागि थिएन । मेरो राजनीति त भेदभाव, अन्याय, अभाव विरुद्धको लडाइँ थियो ।
बोलीको शक्ति साँच्चै नै बलवान हुँदोरहेछ । जब हजारौं आवाजहरू जोडिए, ती खण्डित आवाजहरू एकढिक्का भएर उठे, बुलन्द भएर उठे । त्यही बुलन्दीको उदाहरण थियोे, ०५४ सालमा लहानमा भएको ‘सिनो आन्दोलन’ । मान्छेलाई ‘मान्छे’को होइन, ‘सिनो’को व्यवहार गरिने प्रथा विरुद्धको आवाजमा धेरैले साथ दिए । आज मेरो गाउँमा चमारले सिनो फाल्नु पर्दैन । युगौंदेखि शिर झुकाउन बाध्य पारिएका चमारको आत्मविश्वास बढेको छ । सामुदायिक विकासका लागि चौतारी अनि पँधेरोमा हुने बहसमा चमार महिलाहरूसमेत उत्साहसाथ सहभागी हुनथालेका छन् ।
यसरी बोलीको शक्ति बुझ्नसकेकै कारण सर्लाहीको गाउँको चुलो-चौको र कुटो- कोदालोबाट अहिले संविधान लेख्ने दायित्वसम्मको मेरो यात्रा सम्भव भएको हो ।
हिजो जसरी गाउँमा बोल्थेँ, आज म सदनमा बोल्दैछु । मजस्ता धेरै मानिसहरूको बोली यो सदनले सुन्नुपर्छ । त्यस्तो संयन्त्र चाहिएको छ, जहाँ हरेकको जायज आवाजलाई राज्यले तुरुन्त सुन्न सकोस् ।
म स्वरलाई परिवर्तनको संवाहक ठान्छु र स्वरको शक्तिमा अटुट विश्वास गर्छु । नबोलिकन नै संसारले आफ्नो समस्या बुझिदेओस् भन्ने मेरो सोचाइ गलत रहेछ भन्ने मैले बुझिसकेँ । त्यसैले बोले सबैले सुन्छन्, त्यही बोलीले न्याय दिन्छ । यही हो, मेरो विश्वास ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वास”बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
ममताको शक्तिमा विश्वास गर्छु
Tumblr media
मनका पत्र केलाउँदै जाँदा मभित्र व्याप्त एउटा समवेदना भेटेँ, जसले म र २ देखि १२ वर्षका ती १९ जना केटाकेटीलाई बाँधिरहेको थियो । त्यो समवेदना थियो, ममताको समवेदना । सायद उनीहरूले मैलेजस्तै बुझ्न थालेका थिए, ममताको अर्थ !
डाक्टरको ज्ञानले एउटा घाउ या रोग निको पार्ला, पाइलटको सीपले केही माइल उडाउला, तर एउटी आमाको ममताले सन्तानको पूरै जिन्दगीलाई चाहेअनुसारको आकार दिन सक्छ । त्यसैले म स्नेह र ममताको शक्तिमा विश्वास गर्छु ।
यी बालबालिकाहरूसँग मेरो ममत्वको समवेदना जोडिनुमा मात्र एकपलको करामत छ । कलेजको फिल्डवर्कको सिलसिलामा कालीमाटीको प्रहरी महिला सेलमा जाँदा वर्षदिन पनि नपुगेकी सानी बच्ची सानुकान्छीले मेरो कुर्ताको फेर तानी । यस्सो फर्केर हेर्दा झट्ट, ‘अब्बुई जेलमा पनि बच्चा !’ भन्न पुगेछु । उसका आँखाले मलाई अमूर्त भाषामा भनिरहेजस्तै लाग्यो, ‘मलाई यहाँबाट निकाल, जेलको बन्द हावामा म कसरी हुर्कने ?’
त्यही क्षणको आवेगपछि मैले जेलमा जन्मे-हुर्केका १९ जना केटाकेटीहरूलाई गाँस, बास, कपास, पढाइ, राम्रो हुर्कने वातावरण र आफूभित्र पलाउन सकेजति माया र ममता दिइराखेकी छु । सबैले मलाई ‘पुष्पा मामु’ भनेर बोलाउँछन् । यस्तो सुनेर कहिलेकाहीं मान्छेहरू पुलुक्क मेरो मुखमा हेर्छन् । त्यतिबेला मेरो नाक गर्वले गजक्क फुलेको हुन्छ !
म यिनीहरूकी प्रिय ‘पुष्पा मामु’ हुँ, तर आफ्नै आमा होइन । राम्रो पढ्न-लेख्न र स्वतन्त्र रूपमा बाँच्न पाएकै आधारमा विभिन्न परिस्थितिवश कैदी हुनपुगेका आफ्ना आमाबाबुहरूबाट केटाकेटी नटाढिउन् भन्ने मेरो ध्याउन्न हो । हरेक महिना म यिनीहरूलाई आफ्ना आमाबाबुहरूसम्म पुर्‍याइदिन्छु । अरू कोही बच्चा होस्टेलबाट घर पुग्दाका क्षणझैं यिनीहरूले पनि रमाइ-रमाइ आफ्ना आमाबाबुलाई अँगालेको देख्दा मेरा आँखा भिज्छन् । सामाजिक न्यायको कठघरामा उनीहरूले हारेका होलान्, तर ममताको कठघरामा उनीहरूले सधैं जितेका छन् । यदि म आइन्स्टाइन हुन्थेँ भने, प्रकाशमात्र होइन, ‘आमाको ममता’ पनि निरपेक्ष हुन्छ भन्ने प्रमाणित गर्न खोज्थेँ होला ।
यी केटाकेटीसँग मैले हरेक दिन १९ आमाको आत्मा बोकेर बसउठ गर्नुपर्छ । कोही औंलो चुस्छन्, कोही बाहुलाले सिँगान पुस्छन्, कोही ओछयानमा मुत्छन् । हरेक केटाकेटीलाई फरक-फरक तरिकाले सम्हाल्नुपर्ने, फरक-फरक कोणबाट ममता देखाउनुपर्ने, फेरि ममताको घडा पनि अचम्मैको हुनेरहेछ, जति चुहायो उति भरिँदै आउने । यो सबै कुरा लेख्दा मलाई आफ्नी आमाको सम्झना हुन्छ, जसका कारण म आज यहाँ छु । सुख-दुःख, सफलता- असफलताहरूमा सधैं मलाई आड दिइराख्न��� मेरी आमाको ममताको दृष्टान्तले वास्तवमा मलाई यी सबैकी ‘पुष्पा मामु’ बनाएको हो । व्यक्तिगत दानहरूबाट कसोकसो चलिरहेको यो बालगृहको मूल खाँबो त मेरै आमाले धानिरहनुभएको छ । हरक्षण बालगृहमा केटाकेटीहरूसँग रत्तिए पनि हरेक बिहान आमाले पकाएको खाना ख���न म आफ्नै घर पुगेकी हुन्छु ।
लाउन-खान समस्या नभएकी घरकी प्यारी छोरी भएर पनि धेरै समय म यी केटाकेटीहरूको पालनपोषणका लागि दीर्घकालीन स्रोत कसरी जुटाउने भन्ने सोच्नमै जाने गरेको छ । तर पनि कसोकसो आजसम्म चाहिँ जुटेकै छ । कसैले मलाई भन्थे, ‘तिमी आफ्नोलागि माग्दा केही नजुट्ला, तर अरूको लागि माग्दा भगवानले अवश्य जुटाइदिन्छन् ।’ सायद ममा ममताको शक्ति भएर होला, यो कुरा साँच्चै हो जस्तो लाग्छ । त्यसैले म ममताको शक्तिमा विश्वास गर्छु ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
म सकारात्मक सोचमा विश्वास गर्छु
Tumblr media
म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।
मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।
जीवनमा प्रगति गर्न सकारात्मक र आशावादी सोच नभई हुँदैन । कहिलेकाहीं विषम परिस्थितिमा भविष्यप्रति आशावादी भइरहन गाह्रो हुन्छ । मलाई पनि यस्तो धेरैपल्ट भएको छ । म छोरासँग मिलेर नयाँ होटल खोल्ने तयारीमा थिएँ । द्वन्द्वका कारण देश विषम परिस्थितिमा थियो । होटल खोल्ने उपयुक्त समय होइन कि जस्तो पनि लाग्दै थियो । तर त्यसबेला मैले मेरा पुराना दिन सम्झेँ- जुन बेला एउटामात्र होटल थियो र दुई रुपैयाँ डलरमा विदेशी पर्यटकलाई कोठा दिइन्थ्यो । यो सम्झेपछि लाग्यो, “जे भए पनि विगतभन्दा त धेरै कमाएको छु नि !” त्यसपछि मलाई राहत महसुस भयो । अनि आँट पनि आयो ।
मेरो इतिहासले विषम परिस्थितिमा पनि अझ आशावादी भएर अगाडि बढ्न मलाई हरेकपटक आत्मबल दिएको छ । अझै पनि मेरो पुरानो होटलमा एउटा कोठा दुई डलर भाडामा राखेको छु, इतिहास सम्भिmराख्नका लागि ।
म चाहन्छु, म सधैं आशावादी रहुँ । यदि मसँग आशा हुँदैनथ्यो भने सायद म कहिल्यै खुसी हुन सक्दैनथेँ । मेरी श्रीमती र छोरी क्यान्सरले बिते । मेरो आशावादी सोचले नै मलाई क्यान्सरविरुद्ध उभ्यायो । एक पैसामा क्यान्सर अस्पतालको अवधारणा सरकारलाई बुझाएँ । हुन त एक पैसा आफैंमा केही होइन, तर एक-एक पैसा धेरै भए भने भक्तपुर र भरतपुर क्यान्सर अस्पताल बन्न सक्दारहेछन् । आशावादी नभएको भए ती क्यान्सर अस्पताल त के, आफैं पनि प्रोस्टेट ग्रन्थिमा लागेको क्यान्सरले मरिसकेको हुन्थेँ । तर मसँग बाँच्ने आशा धेरै थियो, अनि आत्मबल पनि । त्यही आत्मबलले आफूलाई लागेको क्यान्सरलाई पनि हराएँ ।
आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।
म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायताले पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।
आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्���ु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
हरेक व्यक्तिमा सम्भावना हुन्छ भन्ने मलाई विश्वास छ
Tumblr media
तर म यही भिन्न धरातलमा उभिएर संघर्ष गर्नमा विश्वास गर्छु । संघर्षले मलाई अगाडि बढ्न मद्दत गर्छ भने आफ्नो धरातलले त्यसनिम्ति आड दिन्छ । म जे र जस्तो छु, त्यो मेरो वास्तविकता हो । म यसमै रमाएर बाँच्छु । सामथ्र्यका हिसाबले म अरूभन्दा अवश्य फरक छु, तर कमजोर होइन । म पनि अरूजस्तै सपना देख्छु ।
मैले जानेदेखि म घस्रेर हिँड्ने गर्थें । आमाबुबा लगायत सबैले भगवानको श्राप लागेको भन्थे । घर नजिकै विद्यालय थियो । अरू साथीहरू विद्यालय जाँदा म पनि घर्सिँदै स्कुल जान्थेँ । साथीहरूले पढ्ने र मैले पढ्ने अक्षर उस्तै थिए । तिनै अक्षरबाट थाहा पाएँ- मलाई भगवानको श्राप होइन, पोलियो लागेको रै’छ । त्यसपछि मेरो भगवानप्रतिको गुनासो हरायो । जीवनप्रति नयाँ सोच आयो, “पढेँ भने म पनि केही गर्न सक्छु ।” अरू साथीहरू हातमा किताब च्यापेर विद्यालय जान्थे । म भने किताब झोलामा बोक्थेँ । हातले खुट्टालाई अघि बढ्न सघाउँथे । चार पाउ टेकेर हिँड्दा मधेसको चर्को घाममा पसिनाले निथ्रुक्क भिज्थेँ । गर्मीले रिंगटा चलेर ढलुँलाजस्तो हुन्थ्यो । तर पनि पढेर जीवनमा केही गर्ने मेरो अठोट डगमगाएन ।
प्राथमिक तह पूरा गरेपछि घरदेखि तीन किलोमिटर टाढाको जनता मावि धाउन थालेँ । गाडी पाइँदैन थियो । पाए पनि चढ्नलाई अरूको सहारा चाहिन्थ्यो । चढ्दा पनि अरूले अन्जानमा मेरो हात कुल्चिदिन्थे ।
गाडी गुडेकै बाटो घस्रिएर स्कुल जाँदा, गर्मीले कतिचोटि मुखबाट रगत पनि आयो । तर अगाडि बढ्ने मेरो यात्रा कायम रहयो ।
जनता मावि इटहरीबाट एसएलसी गरेपछि काठमाडौं आएर पद्मकन्या क्याम्पसमा भर्ना भएँ । त्यहाँ सबै विद्यार्थीले सारी लगाउनुपथ्र्यो । तर मलाई त्यो सम्भव थिएन । आफ्नै किसिमको पहिरन बनाएँ । क्याम्पसका खुड्किलामा हातपाउले तलमाथि गर्दागर्दै आईए पास गरेँ । आईएको रिजल्ट आएको दिन म अत्यन्त गौरवान्वित भएँ । एउटा ठूलो फड्को मारेको महसुस गरेँ । आत्मबल भए चिताएको कुरो पुग्ने रै’छ भन्ने लाग्यो ।
त्यसपछि म आँपगाछी फर्केँ । आफ्नै घरको चार कोठामा “चेलीबेटी महिला अपाङ्ग समाज” नामको संस्था खोलेर अपाङ्गता भएका तथा अन्यलाई चेतनामूलक कार्यक्रम चलाउन थालेँ । क्रमशः समुदायमा अपाङ्गप्रतिको दृष्टिकोण फेरिँदै गयो । अपाङ्गता भएकाहरूलाई सीपमूलक तालिम पनि दिन थालेँ । त्यसले उनीहरूको जीवन सबल तुल्याउन सघायो । काम गर्दै जाँदा हामीहरू जस्ताका लागि पनि अझै धेरै गर्नुपर्छ भन्ने महसुस भयो । तर केही गर्नका लागि पैसा चाहिन्थ्यो, जुन हामीसँग थिएन । चन्दा संकलनका लागि समुदायमा मिटिङ राखेँ । सबैले विचार राम्रो हो भने तर पैसा भने संकलन भएन । म निराश भइन । राम्रो लक्ष्य राखेर प्रयास गरिरहे अरूको मन परिवर्तन गर्न सकिँदो रै’छ । तेस्रो पटकको मिटिङदेखि मानिसहरूले आफ्नो गच्छेअनुसार सहयोग गर्नथाले । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट पनि सहयोग जुट्न थाल्यो । त्यसरी जम्मा गरे��ो पैसाबाट संस्थाको नाममा जग्गा किनेँ । दाताहरूको चन्दा र आफ्नो धेरथोर कमाइसमेत लगाएर भवन निर्माण गरेँ । त्यो भवनले म र म जस्ताको आत्मविश्वास अरू बढाएको छ ।
अपाङ्गतादेखि खुसी नहुँला, तर सधैं रमाउन खोज्छु । आफूजस्तै अपाङ्गतामा बाँचेकाहरूका निम्ति सधैं त्यस्तो केही गर्न खोजिरहन्छु, जसले मलाई सन्तुष्टि र अरूको जीवनमा केही सरलता प्रदान गर्न सकोस् ।
मेरो जिन्दगी भने पनि विश्वास भने पनि यही हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
म असाधारण रूपमा सबल छु र त्यसैमा मलाई विश्वास छ
Tumblr media
म असाधारण रूपमा सबल छु । यो मेरो विश्वास हो । अरूले हेरेर गर्ने धेरै काम म नहेरी गर्छु । अरूले जस्तै म संसार हेर्न सक्दिन, तर उनीहरूको दृष्टिको संसारलाई म आवाज र स्पर्शबाट चिन्छु, अनि बुझ्छु पनि । माध्यम फरक भए पनि देख्ने र नदेख्ने दुवैले बुझ्ने संसार एउटै छ ।
मेरो संसार भनेकै आवाज र स्पर्श हो । मैले पहिलोपल्ट आमालाई पनि त्यही आवाज र स्पर्शबाट चिनेँ । आमाले मलाई सुनाउँदै र छुवाउँदै भन्नुहुन्थ्यो, ‘जीवनमा आएको अवसर तोरीको दानाजत्रो भए पनि नछोडेस् ।’ गुल्मीमा घर नजिकै स्कुल थियो । म सँगैका साथीहरू विद्यालय जान्थे । मास्टरले पढाएको आवाज घरसम्मै सुनिन्थ्यो, मेरा कानमा ठोकिन्थ्यो । म कानलाई त्यही आवाज आएतिर सोझयाउथेँ र मास्टरले उच्चारण गरेका आवाजहरू ध्यानपुर्वक सुन्थेँ । विद्यालयबाट आएको आवाजबाटै मैले कखरा सिकेँ ।
चार कक्षासम्म मैले दृष्टिविहीन साथीहरूसँगै पढेँ । पाँच कक्षादेखि मैले विद्यालय फेरेँ । नयाँ स्कुलका ६०० विद्यार्थीमध्ये म एक्ली दृष्टिविहीन थिएँ । साथीहरूले लेख्ने शब्द र मैले लेख्ने शब्दको अर्थ एउटै हुन्थ्यो । तर लेख्ने तरिका भने फरक । साथीहरू कलमले लेख्थे, म पिनले । उनीहरू अक्षर देखेर चिन्थे, म छामेर । उनीहरूको जस्तै मेरा पनि रंगिन रहर र सपना थिए । तर म रंगहरू छुटयाउन सक्दिन थिएँ । लक्ष्य एउटै, बाटो एउटै थियो । तर हाम्रो यात्रा गर्ने शैली फरक थियो ।
जाँचमा जब विज्ञान, गणित, अनि लेखा विषयमा चित्र बनाएर दिनुपर्ने प्रश्नहरूको उत्तर लेख्न कठिन भयो, त्यति बेला मलाई लाग्यो, मैले हिँडेको बाटो दृष्टियुक्तहरूका लागिमात्र बनाइएको हो । विद्यालयमा मैले छामेर पढ्ने किताबहरू पनि पर्याप्त थिएनन् । साथीहरू पाटीमा लेखेका कुरा हेरेर बुझ्थे, तर मैले सुन्नमात्र सक्थेँ । तर सुनेपछिको बुझाइ भने एउटै हुन्थ्यो । एसएलसीको परीक्षामा चित्र हेरेर लेख्नुपर्ने धेरै प्रश्न आए । देख्न नसक्ने भएकाले ५६ नम्बरजतिको प्रश्न मैले छाड्नुपर्‍यो । तैपनि म प्रथम श्रेणीमा पास भएँ । त्यसले मेरो असाधारण सबलतामाथिको विश्वास अझ बलियो बनायो ।
मेरा आँखाले देख्न सक्तैनन् । त्यसैगरी कसैको खुट्टाले काम नगर्ला, कसैले कान नसुन्लान् । तर मेरालागि यी अंग भनेका त मात्र माध्यम हुन् । चिन्ने, बुझ्ने र गर्ने त मनमस्तिष्कले नै हो । मसँग आत्मविश्वासी मन र विवेकी मस्तिष्क छ । त्यही मन र मस्तिष्कलाई म स्पर्श र आवाजले निर्देशन दिन्छु । अझ धेरै पर पुग्न र केही गर्ने सपना छ । मेरा सपनाहरू यही आवाज र स्पर्शको सहायताले पूरा हुनेछन् । किनकि म असाधारण रूपमा सबल छु र त्यसमा मलाई पूरा विश्वास छ ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
प्रतिबद्धता, निरन्तरता र सफलता – मेरो जिन्दगी, मेरो विश्वास
Tumblr media
डा. भगवान कोइराला -  म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो ।
त्यही बेला मैले अठोट गरेँ: “यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र सधैं कटिबद्ध भएर लागिरहन्छु ।” आफ्नो पेसासँग रमाउनसके पेसाप्रतिको रुचि, लगाव, मिहेनत बढ्छ । पेसाप्रति उत्कट चाहना पलाउँछ । उत्कट चाहनासहित गरेको कामको परिणाम अतुलनीय पनि हुन्छ । म यो पेसामा साँच्चै रमाएको छु ।
ममा यस्तो विचार र विश्वास धेरैपछि पलाएको हो । अमेरिकाको एउटा प्रशिक्षणबाट र्फकने क्षणमा त्यहाँका शिक्षकहरूले “नेपालमा गएर के गर्छस्” भनेर सोधे । मैले भनेँ, “थाहा छैन, तर म जान्छु ।” हुन पनि नेपाल फर्किएर के गर्ने भन्नेबारे मेरो दिमागले केही सोचेकै थिएन । तैपनि आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो बेला मसँग “जहाँ जे छ, त्यहाँ त्यसैलाई आधार बनाएर काम गनुपर्छ” भन्ने विचारमात्र थियो ।
म गंगालालमा प्रवेश गरेकै साल ‘ओपन हर्ट सर्जरी’को सुरुवात भयो । अवस्था कठिन थियो । आज सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । पर्याप्त उपकरण थिएनन् । किन्नका लागि आवश्यक रकम थिएन । तर मैले हार मानिन । सहकर्मीहरूलाई समेटेर दिन-दिनको कार्यक्रम बनाएँ । आवश्यक नियम बनाएर आफूले पालन गरेँ र गराएँ । अस्पतालको उन्नतिलाई सम्पूर्ण कर्मचारीको गन्तव्यको रूपमा स्थापित गराएँ । एकपछि अर्को गर्दै आउने समस्याले अवरोध पुर्‍याउने हुन् कि भन्ने डर पनि यदाकदा लाग्थ्यो । तर काम गर्दै जाँदा थाहा भयो, समस्या त कामप्रति इमानदार नहुनेलाई पो ठूलो बाधा बन्दोरहेछ ! आफूले तनमन दिएर काम गरे, साथ दिनेहरू कैयौं निस्कँदा रहेछन् ! एकजना उद्योगपतिले अस्पतालको विकासका लागि १ करोडभन्दा माथिसम्म चन्दा दिए । कति गृहिणीले आफ्नो घरखर्चबाट रकम बचाएर पनि चन्दा दिएका छन् । भन्दा यो कुरा सामान्य लाग्छ । तर यसको महत्त्वलाई म भित्री तहमा अनुभव गर्छु । त्यस्तो चन्दाकै कारण कैयौं गरिब र कुनाकाप्चाका मानिसले मुटुरोगको उपचार पाउनसकेका छन् । यसलाई म आफ्नो पेसाप्रतिको इमानदारी र कटिबद्धताको परिणाम ठान्छु ।
मुटुको शल्यक्रिया ! जीवन र मृत्युबीच खेलिरहनुपर्ने काम हो यो । यस्तो सम्झँदा पहिले डर लाग्थ्यो । तर आजकल शल्यक्रिया एउटा आवश्यता बनेको छ । आफ्नो पेसाप्रति म यति अभ्यस्त भइसकेको छु कि कुनै दिन अस्पतालमा महत्त्वपूर्ण काम नगरी घर र्फकंदा खल्लो लाग्छ । यही अस्पतालमा मैले अहिलेसम्म मुटु र रक्तनलीको समेत गरेर सात हजारजनाको शल्यक्रिया गरिसकेको छु । ९६ प्रतिशत शल्यक्रिया सफल भएका छन् ।
कसै-कसैले यत्रो मिहेनत गरेर के पाइस् भनेर सोध्ने र घोच्ने पनि गर्छन् । यसमा यही पाएँ भनेर भन्न मलाई गाह्रो हुन्छ । एउटा मुटुरोगी आउँछ र “मेरो जीवन तपाईंको हातमा छ” भन्छ । आफ्नो जीवन अरू कसैको हातमा सुम्पने कुरा आफैंमा सानो होइन । अत्यन्त प्रगाढ आस्था र विश्वास पैदा भएपछि नै कसैले आफ्नो जीवन अरू कसैका हातमा सुम्पिन सक्छ । हजारौंको यस्तै विश्वास र भरोसा पाएको सम्झँदा मेरो छाती चौडा हुन्छ । बिरामीको विश्वास र माया नै मेरो मिहेनतको उपलब्धि हो ।
यो नै हो, मेरो जिन्दगी र मेरो विश्वास ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन
Tumblr media
तिनै गुरुको संगतले मेरो कामप्रतिको निष्ठा अझ प्रगाढ तुल्याइदियो । क्रमशः म काममा मात्रै विश्वास गर्ने हुँदै गएँ । म कर्ममा सिंगो जीवन सार्थक बनाउने शक्ति देख्छु । मान्छे खुसीका लागि डिस्को जान्छन्, मधुशाला जान्छन्, तर म त्यस्ता सम्पूर्ण खुसी र सन्तुष्टि आफ्नो जिम्मेवारी सम्पन्न गर्दा पाउँछु । अर्थ मन्त्रालयको सचिव जोकोही भए पनि दैनिक १०-१२ घन्टा काम गर्नुपर्छ । कामको चाप भएको बेला शनिबार पनि म अफिसमै हुन्छु । यसरी काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन । कामप्रतिको निष्ठाले मानिसलाई अम्मली नै बनाइदिन्छ । जसरी अम्मलीलाई अम्मल लिएपछि आनन्द आउँछ । मलाई पनि काम सकेपछि त्यस्तै आनन्द आउँछ ।
जुन काम गर्दा म आनन्दित हुन्छु, त्यही कामले अर्कोलाई काम गर्न सजिलो पारेको हुन्छ । म मार्फत सजिलै काम भएपछि काम गराउनेहरू पनि अवश्य खुसी हुन्छन् । कामप्रतिको निष्ठाकै कारण इमानदारी र परिश्रम मेरा लत बनेका छन् । यदाकदा इमानदारी र मिहेनतले के पाइस् भन्नेहरू पनि भेटिन्छन् । कति आफन्तले बोलाएको बेला जान सक्दिन । उनीहरू काममात्र आफ्नो देख्छस् भनेर गुनासो पनि गर्छन् । तर जति नै गुनासो आए पनि म आफ्नो जिम्मेवारीलाई भन्दा अरू कुरालाई पहिलो प्राथमिकतामा राख्न सक्दिन । मिहेनत र इमानदारी मेरा नजिकका आफन्त हुन् । यी कुरा मेरोलागि पहिले सास्ती थिए, अहिले आदत बनेका छन् । सुरुमा बोझझैं लाग्थे भने अहिले आनन्दको स्रोत अनि सुरुमा बन्धन ठानिन्थे भने अहिले प्रतिष्ठाको आधार बनेका छन् ।
म कार्यालय समयभन्दा बढी काम गर्छु, तर त्यसबापत कसैबाट आर्थिक सहयोगको आस गर्दिन । मलाई सरकारले दिएको तलब कामका लागिमात्र नभई जिम्मेवारी पूरा गर्नका लागि हो । निजी रूपमा मलाई पूरा विश्वास छ कि जिम्मेवारी पूरा गर्ने मेरो शैलीले पक्कै राम्रो प्रभाव पार्छ । निष्ठावान भएर काम गर्दा आफ्नो दक्षता पनि बढ्छ ।
मैले करिब तीस वर्ष सरकारी सेवामा काम गर्दा धेरै इमानदार, मिहेनती कर्मचारी भेटेको छु । मिहेनती कर्मचारीको संख्या वास्तवमै धेरै छ । उनीहरूको चर्चा हुँदैन, अनि उनीहरू चर्चा रुचाउँदैनन् पनि । किनकि उनीहरू मजस्तै काममै रमाउँछन् ।
म हरेकको समृद्धि र प्रगति सम्बद्ध व्यक्तिको कामप्रतिको निष्ठामा देख्छु । काम गर्दा अरूको जस्तै म पनि समस्या भेट्छु । अनि समाधानका लागि प्रयास गर्दा अवरोध पनि उत्तिकै आउँछन् । धमिला व्यवहारले मलाई पनि धमिल्याउन खोज्छन् । तर मलाई धमिलिन डर लाग्छ । डराएर बाँच्नुभन्दा रमाएर बाँच्नुमा मजा छ । मेरो कामले, मिहेनतले मलाई रमाइलो बनाउँछ । समस्या र अवरोधहरू क्रमशः आफैं पाखा लाग्छन् । मलाई लाग्छ, कामप्रतिको निष्ठा नै समग्र समृद्धि र प्रगतिको पर्याय हो । त्यसैले म सँधै कामप्रति झुकाव राख्छु । काम नै मेरो जिन्दगी हो, काम नै मेरो विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वास” बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
अवसरको सही उपयोग
Tumblr media
राति अबेरसम्म अनि बिहान चाँडै उठेर कामै गर्नुपर्थ्यो । राम्रो लगाउने, मीठो खाने र खेल्ने रहर पनि हुन्थ्यो नै, तर पाइँदैनथ्यो ।
हुर्किंदै जाँदा आफ्ना पितापुर्खाको आर्जनसँग दिक्दारी पैदा हुन थाल्यो । म मुक्तिको बाटो खोज्न थालेँ । कोरा परिश्रम बगेको पानीजस्तै हो । मेरा पितापुर्खाले त्यस्तै श्रम गर्दै आएका थिए । उनीहरूको जीवन सधैं पराधीन थियो ।
एकदिन बुबासँग पढ्ने कुरा गर्दा भन्नुभयो, “गाँस, बास अरूको हातमा भएको मान्छेले कसरी पढ्ने ?” बुबाको यो भनाइ काट्ने आधार मसँग थिएन । तैपनि म एकमहिने साक्षरता कक्षामा भर्ना भएँ । त्यसले थोरै भए पनि मेरो ज्ञानको चक्षु खोलिदियो । आफ्नो नाम लेख्न र सामान्य हिसाब गर्न सक्ने भएँ । अनि थाहा भयो, बुबाहरू किन मिहेनतमात्र गर्नुहुन्छ ? उहाँहरूलाई श्रमको मूल्य र उपयोगिता नै थाहा थिएन । परिश्रमको मूल्य थाहा नपाउने मान्छेको जीवनमा समृद्धि कसरी प्रवेश गरोस् ?
मुक्तिको कामना गर्दागर्दै भागेर भारत पसेँ । बाहिरी संसार बुझ्न त्यसले अरू बढी सघायो । तर समस्याबाट मुक्त हुन फेरि पनि सकिएन । विवाह गरेपछि ससुरालीले खाएको १५ हजार ऋण तिर्न म फेरि कमैया बसेँ । यही बेला रातबिहान गरेर केही छुट्टै आयस्रोत बनाउने काम पनि गरेँ । दुई वर्षमा ऋण चुक्ता भयो । त्यसपछि उही मालिकको जग्गा अधिया कमाउन थालेँ । यही क्रममा ०५७ साउन २ गते त कमैया प्रथाको अन्त्य भयो । मुक्त कमैयाले सरकारबाट सहयोग पाउने भए । तर मेरो ‘कमैया’ हैसियत बाँकी थिएन । यो कुरा मालिकसँग गरेँ । उनले म कमैया हो भनी कागज बनाइदिए । त्यसपछि अधिया खेतीको क्रम पनि टुटयो । सरकारले घर बनाउन दस हजार र एक संस्थाले पसल खोल्न सात हजार सहयोग गर्‍यो । यही पसललाई आधार बनाएर स्वतन्त्र जीवनको नयाँ यात्रा सुरु गरेँ ।
पसलपछि टायल बनाउने व्यवसाय थालेँ । मिहेनत र लगनशीलताले मलाई नाफामात्र दिलाएन, अझ ढृढ भएर काम गर्ने हौसला पनि थपिदियो । म अवसर र पाएको ज्ञान मिलाएर मिहेनत गर्दै रहेँ । कामको सम्मान भएपछि आफूलाई विश्वास गर्नेको कमी नहुने रहेछ । एक संस्थाको विश्वास र सहयोगमा सिमेन्टको रिंग बनाउने काम सुरु गरेँ । सात लाखको ठेक्कामा अढाई लाख नाफा भयो । नसोचेको उन्नति ? त्यसपछि त म अरू केहीलाई काम दिनसक्ने भएँ । र त्यही क्रम आजसम्म निरन्तर छ ।
आज म आफैंमा धेरै फरक पाउँछु । हिजो म आफैं हलिया, आज अरूलाई काम दिएको छु । हिजो म कामको जञ्जीरले बाँधिएको मान्छे । आज काम मेरो हातमा छ । हिजो केही गर्न चाहेर पनि सक्दैनथेँ । आज अरूबाट समेत केही गराउन सक्छु ।
म ५७ सालको सरकारको कमैया मुक्तिको घोषणा अथवा त्यसपश्चात् दिइएको रकमले गर्दामात्र आफू मुक्त भएको ठान्दिन । म त आफूभित्रबाटै मुक्ति खोजिरहेको थिएँ । सरकारको घोषणा र आर्थिक सहयोग त मलाई एउटा अवसरमात्र थियो । मेरो खास मुक्ति त सरकार र समाजले उपलब्ध गराइदिएको त्यो अवसरको सही उपयोगबाट पो सम्भव भएको हो । त्यसैले भनेको हुँ- ‘म अवसरको सदुपयोगमा विश्वास गर्छु’ भनेर । मेरो जिन्दगी र विश्वास पनि यही हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
प्रेम बाँडे बढ्छ
Tumblr media
बुबा डडेलधुराको टिम अस्पतालमा पिएन काम गर्नुहुन्थ्यो । त्यो अस्पतालमा कालिकोटमा बुबालाई पापी भनेर हेला गर्नेदेखि मलाई कुष्ठरोगीको छोरो भनेर गिज्याउनेहरू पनि आउँथे । मलाई ती मानिस देख्दा रिस उठ्थ्यो । तर बुबा भने उनीहरूलाई झन् सहयोग गर्नुहुन्थ्यो । म अचम्ममा पर्थें । आफूलाई हेला गर्ने, घृणा गर्ने मान्छेलाई पनि किन राम्रो गर्नु ? सोध्दा बुबा भन्नुहुन्थ्यो, माया बाँडेमात्रै बढ्छ । मैले बुबाको यो वाक्यको अर्थ क्याम्पस सकुन्जेल पनि बुझिन ।
साठी सालतिरको कुरा हो । चाइनाबाट एमबीबीएस पास गरेर फर्किएपछि काठमाडौंका राम्रा अस्पतालमा काम गर्ने मेरो इच्छा थियो । त्यहीबेला मलाई सिनियर डाक्टर विजय पाण्डेले पर्साको बाँदरझुला भन्ने गाउँमा शिविरमा बोलाउनुभयो । इच्छा नहुँदा-नहुँदै पनि चिनेको दाइ भएकाले मैले नकार्न सकिन । पर्साको दुर्गम गाउँ, झिँगटीले छाएको बस्तीमा सानो प्राथमिक विद्यालयमा ��िविर चलाइएको थियो । अस्पताल जान नसक्ने बाँदरझुलावासीको साधारण स्वास्थ्य जाँच गर्ने र घाउ सफा गर्ने काम मैले गरेँ । तर त्यहाँका बिरामी मसँग अत्यन्तै खुसी भएको पाएँ । उनीहरूले ईश्वर नै पाएजस्तो गरे । उनीहरूको मायाले म भावविह्वल भएँ ।
बाँदरझुलामा गरेको त्यो छोटो सेवाले मलाई बुबाको भनाइको सही अर्थ खुलस्त पारिदियो । माया बाँडेपछि साँच्चै बढ्दोरहेछ । टोलैपिच्छे अस्पताल भएको काठमाडौंमा म माया धेरै बाँड्न सक्दिनथेँ । त्यसैले अठोट गरेँ, माया बाँड्न म गाउँमै जानुपर्छ, जहाँ धेरैभन्दा धेरै मान्छेलाई त्यसको खाँचो छ ।
म डडेलधुरामा बसेर बिरामीको सेवा चार वर्षदेखि गरिरहेको छु । यहाँ म आफ्नै इच्छाले बसेको हुँ । यहाँ दिनहुँ सयौं मान्छे उपचारका लागि आउँछन् । बेला-बेलामा छाला ताछिएको टाउको, हाँगा रोपिएको गर्धन लिएर पनि मान्छे आइपुग्छन् । प्रसव वेदनाले छट्पटाउँदै गरेका महिलाहरू आउँछन् । अछाम, डोटी, दार्चुलाबाट दुई दिनसम्मको बाटो हिँडेर बिरामी यहाँ आइपुग्छन् । डाक्टरको नाताले उनीहरूको उपचार गर्ने जिम्मा मेरो हुन्छ । यति अमूल्य माया डडेलधुरा नबसेको भए मैले कहाँ बाँड्न पाउँथे र ?
शुद्ध नेपाली नबुझ्ने बिरामीहरू मैले डोटेली भाषामा बोल्दा अचम्म मान्छन् र आफ्ना कुराहरू निर्धक्क राख्छन् । बिरामीको अवस्था बुझेर डोटेली नबुझ्ने चिकित्सकलाई बुझाउन पाउँदा मलाई थप गर्व लाग्छ ।
डाक्टरी काम आफैंमा ठूलो होइन । ठूलो कुरा त माया, स्नेह हो । जुन मैले सुदूर पश्चिमका धेरै बिरामीहरूसँग बाँड्न पाएको छु । प्रेम, माया वा स्नेह जति बाँडयो, त्यति बढ्दै जान्छ भन्ने मेरो विश्वास हो । जहाँ प्रेम बाँडिन्छ, त्यहाँ घृणा कुनै ठाउँमा हुँदैन । त्यसैले प्रेम बाँड्नु नै मेरो लक्ष्य हो । त्यही नै मेरो विश्वास पनि ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
बोल्ने��े नै जित्छ
Tumblr media
नचाहँदा-नचाहँदै र भन्दाभन्दै पनि मैले उपचार गर्न नसक्ने बिरामी धेरै आइरहन्थे । तीमध्ये अधिकांशलाई टाढाको अस्पताल जान जेथाले साथ दिँदैनथ्यो। त्यस्ता बिरामी देख्दा सुत्केरी अवस्थामै बितेकी मेरी आमालाई सम्भिन्थेँ । तर पनि त्यस्ता असहाय बिरामीहरूलाई अरू नै अस्पताल जानु भन्नुबाहेक मसँग अरू उपाय हुन्नथ्यो । यसो भनिरहँदा मनमा तीतो अनुभूति बढ्दै गयो । त्यही तीतोपन हटाउन आफैं डाक्टर बन्ने कुरा सोच्न थालेँ । मैले जे सोचेँ, त्यो अरूलाई पनि भनेँ । कतिपयले चाहिँ ‘हेल्थ असिस्टेन्ट’ पनि डाक्टर हुन्छ भनेर खिल्ली उडाए ।
म आज पनि मनमा लागेको कुरा भनिहाल्छु । त्यसो गर्दा त्यो कुरा पूरा हुने-नहुने चाँडै थाहा हुन्छ । सायद सोलुमा हुँदा मैले मेरा चाहना मनभित्रै लुकाइराखेको भए म जीवनभर ‘हेल्थ असिस्टेन्ट’मै सीमित रहन पनि सक्थेँ । शिक्षण अस्पताल, बेलायत, बंगलादेश र अमेरिकामा अध्ययन गर्दै आज इन्टर प्लास्ट सर्जन हुन्न थिएँ ।
भित्री इच्छा प्रकट गर्नेसँग आफ्नो लक्ष्य प्राप्तिका लागि लागिपर्ने शक्ति हुँदोरहेछ । त्रिविको मेडिसिन क्याम्पसमा एमबीबीएस पढिरहँदा त्यतिबेलाका धेरै सिनियर डाक्टरहरू ‘हेल्थ असिस्टेन्ट’बाट बनेका डाक्टर राम्रो हुँदैन भन्ने पूर्वाग्रह राख्थे । काम सिकाउने क्रममा पनि होच्याउँथे । उनीहरूको बोली र व्यवहारले मलाई बेला-बेला साह्रै पनि पार्थ्यो । मैले सोलुको सोताङमा प्रकट गरेको डाक्टर बन्ने चाहनाले त्यस्ता पीडालाई धेरै बेर रहन दिँदैनथ्यो । यही उत्प्रेरणाले गर्दा अन्ततः डाक्टर भएर शिक्षण अस्पतालमा काम पनि गर्न थालेँ ।
त्रिवि शिक्षण अस्पतालमै विदेशी डाक्टरहरूले गरेको खोँडे बच्चाको एउटा अपरेसन देखेर म चकित भएँ । त्यो अपरेसनमा अन्य अपरेसनमा झैं धेरै उपकरण थिएनन् । काम गर्ने समूह पनि सानो थियो । तर उनीहरूले आधा घन्टामै कुरूप खोँडेलाई सुन्दर बनाइदिए । त्यो बच्चाको परिवर्तित रूप देखेर यति प्रभावित भएँ कि मैले मनमा कुरा रोक्न सकिन र तुरुन्तै त्यो कुरा सिकाइमागेँ । उनीहरू पनि मलाई सिकाउन तयार भए । यदि त्यो बेला उनीहरूले के भन्लान् भनेर मनको कुरा मनमै राखिराखेको भए आज इन्टर प्लास्ट सर्जन भएर १५ हजार खोँडे बालबालिकालाई सुन्दर बनाउन सक्ने थिइन । बाँकी रहेका ३० हजार खोँडे बालबालिकाको रूप परिवर्तन गर्न म र मेरो समूह आज पनि लागिपरेका छौं ।
प्लाष्टिक सर्जरी सिक्दै गर्दा पनि मलाई यसको खास महत्त्व के हो भन्ने थाहा थिएन । तर मेरो त्यही खुल्दुलीले आज कति बाआमाको मन हाँसेको छ । कति खोँडे बच्चाको हीनताबोध हटेको छ । कति मान्छे वर्षौदेखि आगोले डढेर बिग्रिएका हातखुट्टा ठीक भएर हिँड्न सक्ने भएका छन् । मैले विदेशीसँग अचानक प्रकट गरेको कुराले गर्दा नै म अरूको लागि यो काम गर्नसक्ने भएको हुँ ।
मान्छे सोचेर बोल्नु भन्छन् । हो, होश पुर्‍याएर बोल्नु पनि पर्छ । तर सिक्ने चाहना छ भने अचानक बोलेका कुराले धेरै सम्भावनाहरू पनि खोलिदिन्छ । नबोल्नेले केही ठाउँमा आफ्नालागि राम्रो काम गर्लान्, तर बोल्नेले धेरै ठाउँमा धेरैका लागि राम्रो काम गर्न सक्छन् । यो मेरो अनुभव हो । यो नै मेरो विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
0 notes
merojindagimerobishwas · 12 years ago
Text
करुणा भाव हरेकभित्र छ
Tumblr media
पण्डित्याइँ हाम्रो परिवारको रीति भएकोले आमा र हजुरबुबाले मलाई बुबाकै बाटोमा लाग्ने सल्लाह दिनुभयो । कतिले चाहिँ बुबाकै हालत हुन्छ भनेर नलाग्ने सल्लाह पनि दिए । महायज्ञबाट विद्यालय, क्याम्पस, अस्पताल निर्माणका लागि पैसा उठाइदिने जस्तो असल काम गर्दागर्दै बुबा बित्नुभएको थियो । यो कुरा सम्झेपछि मभित्र सुषुप्त अवस्थामा रहेको करूणाभाव जागृत भएर आयो ।
करूणा हरेक व्यक्तिभित्र सुषुप्त अवस्थामा रहने भक्तिभाव हो । म करूणाको शक्तिमा विश्वास गर्छु । यही भावना अरूभित्र पनि जगाउन खोज्छु । करूणाभाव म बुबाको हत्याराभित्र पनि खोज्छु । उसलाई सद्बुद्धि आओस् ! ऊभित्र करूणा जागृत भएर अरूको हित हुने काम गरोस् ! जसरी विश्वविद्यालय निर्माणका लागि सुर्खेतका मोतीप्रसाद भन्ने एक व्यक्तिले रु ५६ लाख र आफूले बनाएको विश्वविद्यालयमा धेरैले शिक्षाको उज्यालो देख्ने अवसर पाउँछन् भनेर सुर्खेतवासीले १००१ विघा जमिनसहित ३२ करोडको सम्पत्ति दान गरे ।
करूणा आध्यात्मिकताको भित्री पाटो हो । यसले आफूभित्रको जडता र फोहोरलाई फाल्छ । करूणाले एक व्यत्तिको होइन, सिंगो समाजको उत्थान सोच्छ । यही उत्थानको निम्ति भनेर लेखनाथ नगरपालिकाका दम्पतिले आफू र आफ्नो पितापुर्खाले कमाएको सम्पत्ति दान गरे । करूणाभावकै कारण वनेपाको चण्डेश्वर यज्ञमा एक बूढीआमाले आफ्नो मुन्द्रीसमेत दान गरिन् । उनीसँग गहना त्यहीमात्र भएकोले दान नगर्न मैले अनुरोध गरेँ । यही कारणले उनको घर झगडा पनि भयो । तर करूणाभावले गर्दा उनले अरूको सहयोगका लागि आफ्नो मुन्द्री दान गर्नुमै जीवनको सन्तुष्टि देखिन् ।
यही करूणा हो, जसको कारण काठमाडौंजस्तो सम्पत्ति कमाउन होडबाजी चल्ने ठाउँमा पनि पारसमणि बरालले रु ५२ लाख दान दिए । कुलेश्वरको एक माध्यमिक विद्यालयमा नयाँ भवन बनेर विद्यार्थीले सहज रूपमा पढ्न पाउनु नै उनको सुख बन्यो । बुटवलका बालकृष्ण दाहाललाई रु ३० लाख दान गर्दा सामान्यझैं लाग्यो ।
महायज्ञमा मैले भागवत् पढ्दा हिन्दू धर्मको प्रचार गरेको जस्तो पनि देखिन्छ । तर यो ���र्मविशेषको प्रचार होइन । मेरो उद्देश्य त मानिसभित्रको करूणा जगाएर ‘सर्वजन हिताय’ व्यक्तिहरूलाई दान गर्न अभिप्रेरित गर्नु हो । यसकै परिणाम हो, नेेपालगन्जको सप्ताहमा मुस्लिम समुदायले रु २० लाख र मागेर गुजारा चलाउने कुनै भिखारीले रु १२०० दान गर्नु ।
नेपालको ३० भन्दा बढी जिल्लामा गरेर ९२ वटा महायज्ञ गरिसकेको छु । ती यज्ञहरूमार्फत विभिन्न ठाउँमा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि झन्डै रु २ अर्ब रकम उठेको छ । यसरी उठेको रकममा मेरो व्यक्तिगत लोभ रहँदैन । यजमानहरूले स्वेच्छाले दिएको रकममात्रै लिन्छु । अर्को यज्ञ गर्नलाई म बाँच्ने आधार यही नै हो । मैले मेरो समूहलाई पनि तलब दिनुपर्छ । हुन त कतिले कुरा पनि काट्छन् रे ! तर उनीहरूसँग मेरो कुनै गुनासो छैन । बरु उनीहरूभित्र पनि राम्रो सोचको विकास होस् भन्ने कामना गर्छु ।
करूणाले मनभित्रको त्यस्तो शक्तिलाई उजागर गर्छ, जसले कुनै पनि डरत्राससँग विचलित नभई असल काममा लागिरहने प्रेरणा दिन्छ । यही करूणाकै कारण म बुबाको देहान्तपछि पनि उहाँकै पदचिह्नमा हिँड्नसकेको छु । मैले गरेका यज्ञका कारण विभिन्न ठाउँमा विद्यालय, क्याम्पस, बाटो र पुल बनेका छन् । विश्वविद्यालय र अस्पताल निर्माण हुने क्रममा छन् । त्यसको निम्ति मेरो यज्ञमार्फत धेरैले दान गरे । तर दान मेरो यज्ञमा उठे पनि त्यो उनीहरूको करूणाभावको देन हो । यज्ञ र प्रवचन त उनीहरू र मेरो करूणा बीचको सेतुमात्र हो । जुन करूणा जोडिएर समाज र मानव हितको काम भइरहेको छ । त्यही करूणा जगाउनु मेरो कर्म हो, मेरो धर्म पनि हो । यही नै मेरो जिन्दगी हो, यही नै मेरो विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।
0 notes