Tumgik
#गईबसतलई
nepal123 · 8 years
Photo
Tumblr media
गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री इलाम, १२ माघ- माइमझुवा–२ का शुक्रराज राईलाई गाईबस्तुलाई सोत्तरका रूपमा प्रयोग गरिँदै आएको लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी गर्न सकिएला भन्ने कहिल्यै लागेको थिएन् । सधैँ गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री हुन्छ भन्ने थाहा नपाए पनि त्यही लौठसल्लाले उनलाई आज लखपति बनाएको छ । एक दशकअघिसम्म लेकाली क्षेत्रमा हुने आलु, मकैलगायत परम्परागत बाली लगाएर मुस्किलले वर्ष दिनको गुजारा चलाउँदै आउनुभएका शुक्रराजले लौठसल्लाको बिक्रीबाट यस वर्ष रु छ लाख आम्दानी गर्नुभयो । क्यान्सरको औषधिको कच्चा पदार्थका रूपमा लिइने लौठसल्लाको खेती गर्ने लहर चलेपछि जे परे पर्ला भनेर १०५ रोपनी जग्गामा लौठसल्ला रोप्नु भएका उहाँलाई लौठसल्लाले लखपति बनाएको हो । “गाउँका धेरै साथीभाइले लौठसल्लाको व्यावसायिक खेती गर्दा पनि आफूलाई अत्तोपत्तो थिएन,” उहाँले भन्नुभयो– “लौठसल्लाबाट नसोचेको आम्दानी भएको छ । अघिल्लो वर्ष रु पाँच लाखको लौठसल्ला बिक्री गरे ।” लौठसल्लाको पातबाट मात्र होइन, राईले बिरुवा बेचेर पनि मनग्य आम्दानी गर्नुहुन्छ । गत वर्ष ३५ हजार बोट लौठसल्लाको बिरुवा बिक्री गरेर रु दुई लाख कमाउनुभयो । लौठसल्लाको पात प्रतिकिलो रु २० र बिरुवा रु १५ मा बिक्री भएको उहाँले बताउनुभयो । माबुका किसान डुलबहादुर राईले पनि लौठसल्लाबाट यथेष्ट आम्दानी गरिरहनुभएको छ । चिराइतोमा रोग देखिनु र मिसावटका कारण बिक्न छोडेका बेला लौठसल्लाले किसानलाई राहत दिएको छ । पूर्वी पहाडी जिल्लामा लामो समयदेखि औषधिजन्य लौठसल्लाको खेती गरिएको भए पनि भर्खरै मात्र यसको किनबेच सुरु भएको छ । करिब २५ वर्षदेखि लौठसल्लाको खेती गर्दै आउनुभएका माइपोखरी–८ का जगत राई ७० रोपनी जमिनमा व्यावसायिक रुपमा खेती गर्दै आउनुभएको छ । उहाँ बर्र्सेनी रु तीन लाखदेखि रु चार लाख बिक्री गर्नुहुन्छ । यहाँका अधिकांश किसानले लौठसल्ला बुटवलस्थित माछापुच्छ«े लौठसल्ला प्रशोधन कारखाना र नेचुरल हर्बल कम्पनीमा पठाउने गरेका छन् । व्यावसायिक खेती बढिरहेको भए पनि लौठसल्ला बेच्न सहज छैन । सुकेको पात मात्र कम्पनीले किन्ने गरेको छ । सुलुबुङ, जमुना, जोगमाई, चमैता, माईपोखरी, मावु नयाँबजार, पुवामझुवालगायत गाविसका चार हजारभन्दा बढी किसानले लौठसल्लाको व्यावसायिक खेती गरिरहेका छन् ।
0 notes